सुनसरी । सुनसरी जिल्ला अदालतमा कार्यरत १ प्रहरी हवल्दारले आफ्नै कञ्चटमा गोली प्रहार गरेका छन् । गोली लागेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आफ्नै कञ्चटमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
दाहिने कञ्चटमा गोली हानेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारको क्रममै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।
घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७