जनकपुर । शनिबार राति परेको वर्षाले जनकपुर जलमग्न भएको छ ।
सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् ।
नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ । एकीकृत सहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ ।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइए पनि ढल व्यवस्थापन नभएका कारण पानीको बहाव रोकिएर घरघरमा पानी पसेको छ ।
वर्षाको पानीले यातायात, वनलगायत कार्यालयको परिसरमा पानी जमेको छ भने जनकपुर–ढल्केवर निर्माणाधीन अवस्था रहेको ६ लेन सडकले गर्दा सडक हिलाम्य भएर यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७