कोरोनाभाइरसको महामारीका कारण का कारण डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको समाचार एएफपीले जनाएको छ ।
समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो । आफ्नो फेसबुक मार्फत जानकारी दिँदै प्रधानमन्त्रीले भनेकी छन् ‘म यी गज्जबका मान्छेसँग विवाह गर्न आतुर छु,’ टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, ‘तर यो सजिलै भइरहेको छैन । अब फेरि जुलाईमा हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो।’
आफूले आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हितको रक्षा गर्नुपर्ने भएकाले फेरि विवाह गर्ने मिति पर सार्नु परेको उनको भनाइ छ । ‘हामी चाँडै विवाह गर्न सक्षम हुनेछौं। म बो (जो निकै धैर्यता राखिरहेका छन्) लाई ‘यस’ भन्न आतुर छु,’ उनले लेखेकी छन । कोरोनाभाइरसको संक्रमण रोक्न महिनौं लकडाउन भएपछि पहिलो पटक युरोपियन युनियनका नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७