पोखरा । पोखरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थामा अवरोध भएको छ ।
शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका छन् । अवरोध गर्नेहरूलाई तर्साउन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताए । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । ३ वटा मोटरसाइकलमा क्षति भएको छ ।
कोरोनाका कारण पोखरामा मृत्यु भएको व्यक्तिको शव सेती नदी किनारमा गाड्नका लागि जेसिबी लगेर खाल्डो खन्दै गरेको स्थानीयले थाहा पाएपछि उनीहरुले उक्त घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
कोरोना महामारीको जोखिम बढिरहेका बेला अन्य क्षेत्रका मानिसको शव आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै स्थानीयहरुले आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान लिएका छन् ।
खाल्डो खनिएको ठाउँ र जेसिबीको सुरक्षा प्रहरीले दिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७