मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ । बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि ७ जनाको निधन भएको बताएको छ । साथै यहाँका अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन्।
भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन्।
मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७ सय किलोमिटर टाढाको ओक्जाका सहरमा सो भूकम्पले बढी क्षति पुर्याएको बताइएको छ।
भूकम्पको झड्का निकै शक्तिशाली रहेकाले सो झड्कापछि घरहरु भत्किएर थिचेको र यसबाट मानिसको ज्यान गएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७