पूर्ण चलाउने/टोकियो । नेपाली राजदुतावास जापानले आइतबार टोकियोमा दशौं गणतन्त्र दिवस भव्यताकासाथ मनाएको छ । दुतावासले टोकियोको सिमोमेगुरो स्थित आफ्नै भवनमा आयोजना गरेको गणतन्त्र दिवस समारोहमा जापानमा रहेका नेपाली व्यवसायी, पत्रकार, विद्यार्थी, गैर आवासिय नेपाली संघका प्रतिनिधि, सबै राजनीतिक पार्टी निकट संगठनका प्रतिनिधि र जापानका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समारोहमा राजदुत प्रतिभा राणाले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गणतन्त्रका लागि अमुल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन । उनले इतिहासबाट पाठ सिक्नुपर्ने स्मरण गराउदै शहिदहरुको योगदानको चर्चा गरिन । उनले जापानका सबै सामाजिक संघसंस्थासँग ऐक्यबद्धता जनाउदै सबै जापानबासी नेपालीका लागि दुतावासले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन । विकसित देशमा अध्ययनका लागि आएका युवाहरु अध्ययन सकिएपछि आफुले हासिल गरेको ज्ञान सिप लिएर स्वदेश फर्किन पनि राजदुत राणाले आग्रह गरिन । समारोहमा दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले संचालन गरेका थिए भने अतिथि सत्कार तृतीय सचिब रेवन्त केसीले गरेका थिए । दुतावासले दशौं गणतन्त्र दिवस तीन दिनसम्म राजदुतावास र राजदुत निवासमा मनाउने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०७४