भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सूदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टाइनमा बसेका छन् ।
काठमाडौंबाट भोजपुर आएका किराँती जन्मथलो रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् ।
सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टाइनमा बसेको सांसद किराँतीले बताए।
उनले भने, 'म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टाइनमा बसेको छु, क्वारेन्टाइनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु।'
मानिसमा पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत उनको भनाइ छ।
'हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु,' सांसद किराँतीले भने ।
क्वारेन्टाइनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताए। अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ।
उनले भने, 'काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टाइनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टाइनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ।'
जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिन उनी गृहजिल्ला आएका हुन् । क्वारेन्टाइनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टाइन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७