काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
महाशाखाले ती स्थानमा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । अहिले काठमाडौं उपत्यकालगायत देशभर हल्का तथा मध्यम वर्षा भइरहेको छ । गएरातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ ।
सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास मध्यम तथा भारी बर्षा भईरहेकोले उक्त जिल्ला भई बहने साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको समेत संभावना रहेकाले सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७