भोजपुर । संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडामा पर्ने ओयाङ भन्ने ठाउँमा पहिरो खसेपछि अरुण नदी आशिंक रुपमा थुनिएको छ ।
आइतबार गएको पहिरोले १ परिवारका ७ जना विस्थापित समेत भएका छन् । करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए ।
पहिरोले प्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको हो । स्थानीय हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको डीएसपी मल्ले बताए । उनका अनुसार विस्तृत जानकारी भने आइसकेको छैन ।
प्रहरीले अरुण नदी आसपास बस्ती रहेको अरुण तेस्रो आयोजनाको पावरहाउस स्थल पुखुवा आसपास र हेलुवाबेंसी, चेवाबेंसी, मनकामना लगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सतर्क भएर बस्न आग्रह समेत गरेको छ ।
सो स्थानमा प्रहरी र नेपाली सेनाको टोली गएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७