काठमाडाैं । आषाढ कृष्ण औँसीका दिन आइतबार बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ ।
बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । ३ घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने छ ।
शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने नेपाल एस्ट्राेनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिन्छ ।
सोसाइटीले युट्युब च्यानलमार्फत अहिले ग्रहणको प्रत्यक्ष प्रसारण गरिरहेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा हुँदा पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने भएकाले सूर्यग्रहण लाग्ने सोसाइटीले जनाएको छ ।
हेराैं सूर्यग्रहणका केही तस्बिरः
प्रकाशित मिति: आइतबार, असार ७, २०७७