काठमाडाैं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानुनी रुपमा भित्रिएका विद्युतीय ८ वटा विलासी गाडी थन्किएका छन् ।
ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो । त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ बजेटले गरेको छ ।
आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा नहुँदा व्यक्तिगत रुपमा आयातकर्ताले आयात गर्दा त्यसलाई गैरकानुनी मानिने रहेको छ ।
ती गाडीमा ४० प्रतिशत ड्युटी, ५० प्रतिशत एक्साइड र १३ प्रतिशत भ्याट लाग्ने भएकाले आयातकर्ताले ती गाडीहरु छुटाउन नसकेको सो कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए ।
यसैबीच वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा राजस्व संकलनमा ११ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ। कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म १ खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजार राजस्व उठाउने लक्ष्य भएकोमा ६४ दशमलब ७१ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजार मात्र राजस्व संकलन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७