पाेखरा । गण्डकी प्रदेशका कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी शुक्रबार बिहान थप २४ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा ६, बागलुङमा १४, नवलपरासी र स्याङ्जामा २-२ जना संक्रमित थपिएका छन् ।
कास्कीका संक्रमितमा पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षका पुरुष र ३० र ५६ वर्षका महिला तथा रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष छन् ।
त्यसैगरी बागलुङमा गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९, ४५ वर्षका पुरुष, ४२ र ३० वर्षका महिला, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेको एक ६३ वर्षीय पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका २८ र २० वर्षका पुरुषमा संक्रमण फेला परेको जनाइएको छ ।
नयाँ संक्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा संक्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।
हालसम्म स्याङ्जामा ७५, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ९९, बागलुङमा ५६, पर्वतमा ३८, गोर्खामा ३६, तनहुँमा २६, कास्कीमा १३, म्याग्दीमा तीन तथा लमजुङ र मनाङमा १-१ जना संक्रमित छन् ।
कूल संक्रमितमध्येमा २० जना महिला छन् । हालसम्म ३४ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । १ जना संक्रमितको भने मृत्यु भएको छ ।
प्रदेशमा हालसम्म ८ हजार ४ सय ४३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन(स्वाब) लिइएकामा ६ हजार २ सय ९५ जनाको नतिजा नेगेटिभ आएको छ ।
प्रयोगशालामा अझै १ हजार ८ सय २४ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७