काठमाडौं । विद्युत नियमन आयोगले बिजुली उपभोक्ताका लागि नयाँ दररेट निर्धारण गरेकाे छ ।
औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महसुलमा राहत दिनेगरी आयोगले निर्धारण गरेको नयाँ दररेट असारदेखि नै लागू हुने छ ।
नयाँ महसुल दररेटमा घरायसी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दर निर्धारण गरेको छ।
नयाँ दररेट अनुसार घरायसी उपभोक्ताले न्यूनतम ३० रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ । सिंगल फेजको तल्लाे भोल्टेज(२३० भोल्ट)को बिजुली प्रयोग गर्ने घरायसी उपभोक्ताले महिनामा १० किलोवाट बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्ने भएको हो ।
तर यही फेजमा १५ एम्पिएरमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाटको शुल्क ४ रुपैयाँ लाग्ने, ३० एम्पिएर मा ७५ रुपैयाँ र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने छ ।
यसैगरी ६० एम्पिएरमा १ सय २५ रुपैयाँ शुल्क र प्रतितिकिलोवाट ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
यस्तै सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाटभन्दा बढी खपत गर्दा अधिकतम महिनामा २ सय ७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट १२ रुपैयाँ तिर्नुपर्ने छ ।
यसैबीच,आयोगले घरधनीहरुलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलिङको अधिकतम् दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तवरले बिजुलीको शुल्क नअसुल्ने गरी निर्देशन दिन भनेको छ ।
‘घर बहालमा बस्नेलाई मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम दरभन्दा बढी महसुल उठाउन नपाउने व्यवस्था गर्न निर्देशन गरिन्छ,’ आयोगले भनेको छ ।


प्रकाशित मिति: बुधबार, असार ३, २०७७