काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनाल सीमा क्षेत्र कालापानी प्रस्थान गरेका छन् ।
बुधबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी प्रस्थान गरेको र त्यहीबाट सेनाकै एमआई–१७ हेलिकाेप्टरमा कालापानी क्षेत्रमा प्रधानसेनापति र सशस्त्रका आइजीको टोली जाने छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणमा उनीहरू गएका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रधानसेनापतिसहितको टोली सेनाले निर्माण गरिरहेको घोरेटो बाटो, सेनाको अस्थायी बेस क्याम्प, सशस्त्र प्रहरीले स्थापना गरेको बीओपीलगायतको औपचारिक निरीक्षण गर्न दार्चुलातर्फ प्रस्थान गरेको जानकारी दिए ।
उनका अनुसार प्रधानसेनापतिले सुदुरपश्चिम पृतनाको निरीक्षण गर्ने कार्यक्रम पनि छ । गृहमन्त्रालयले केही समयअघि दार्चुलाको कालापानीनजिकै ब्यास नगरपालिकामा पर्ने छागंरुमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको थियो ।
केही दिनअघि मात्रै नेपालको संसदबाट लिम्पियाधुरासमेत समेटेको नयाँ नक्सा पास भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७