काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागले श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड अकूत अर्जन गरेकाे भन्दै मुद्दा दायर गरेको छ। विभागले उनीसहित योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्ध समेत सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।
स्रोतका अनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्बर जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाजीपूर्वक मिनाहा गर्ने गरेको पाइएको छ । श्रेष्ठले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको समेत भेटिएको छ ।
कैलास विकास बैंक, एभरेस्ट बैंक लगायतबाट पनि ऋण लिएर श्रेष्ठले दुरुपयोग गरेको भेटिएको छ । काठमाडौंको नागार्जुन ४ निवासी श्रेष्ठले छलपूर्वक एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने गरेको देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७