काठमाडौँ । म्याच फिक्सिङको अभियोग खेपेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जना खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
विशेष अदालतको फैसला सदर गर्दै न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले एन्फाका खेलाडी, प्रशिक्षक लगायतमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।
नेपाल प्रहरीको अपराध महाशाखाले २०७२ साल असोज २७ गते तत्कालिन फुटबल टिम क्याप्टेन थापासहित उपकप्तान सन्दीप राई, किपर रितेश थापा, विकास सिंह क्षेत्री, अन्जन केसी र डेबिड थापालाई म्याच फिक्सिङको अभियोग लगाएर पक्राउ गरेको थियो ।
तर विशेष अदालतले उनीहरुमाथिको मुद्दामा म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो ।
सोही फैसलालाई सर्वोच्चले मंगलबार सदर गरिदिएको हो । सर्वोच्चबाट सफाइ पाएपछि पूर्वखेलाडी सागर थापाले सत्यको जित भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
उनीहरुविरुद्ध सन् २००८ देखि खेलिएका २२ वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेर पैसा लिएको सुराक पाएको दाबीसहित महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७