काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य २ जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।
पर्वतको मोदीवेणीमा ५ चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो । त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी ८ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो ।
एउटै गाउँका ६ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा संयौंको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए । तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिएका थिए ।
पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिए ।
त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।
हराएका जेनिशको खोजी कार्य वर्षाले प्रभावित
पहिरोले पुरिएका ९ मध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजी थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।
दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । आज बिहानबाट पुनः खोजी गर्न सुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका ६ र विक परिवारका ३ जनाको परिवार पुरिएको थियो । थापा परिवारका ६ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७