पूर्ण चलाउने/टोकियो
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल जापान सम्बन्धलाई थप उचाईमा पुर्याउन दुतावास र जापानको नेपाली समुदायबीच सहकार्य गरिने बताएकी छिन । शुक्रबार नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीसंगको भेटघाटमा राजदूत राणाले नेपाल जापान सम्बन्ध निकै पुरानो रहेको उल्लेख गर्दै यसलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखिन । जापान नेपालप्रति कुनै स्वार्थ नराखी नेपालको हित चाहने सहयोगी मुलुक भएको बताउदै राणाले नेपालीहरु बाट जापानमा हुने गरेका गलत प्रबृतिहरुको समाधानमा जोडदिइन । उनले भनिन् ‘नेपालीहरु सकभर जापानमा गलत क्रियाकलाप नगरुन हाम्रो पुरानो सम्बन्ध नबिग्रियोस् भन्ने जापानको इच्छा छ । हामीले जापानीहरुको भावानाको कदर हामीले गर्नुपर्छ ।’
जापानमा हुनेगरेका गलत प्रबृतिको समाधानको लागि दुतावासले नेपाली समुदायसंग सहकार्य गरी जनचेतनाका कार्यक्रममा सञ्चालन गर्ने उनको भनाइ थियो । जापान सबै नेपालीहरुको लागि अवसरको देश भएको उल्लेख गर्दै उनले नेपालीहरुले जापानमा प्रगति गरेकोप्रति खुसी व्यक्त गरिन । नेपालको पर्यटन प्रवर्धनका लागि जापान एक भरपर्दो मुलुक भएको उल्लेख गर्दै जापानका सामाजिक संघ संस्थाहरुले नेपालको पर्यटन प्रबर्धनका लागि प्रचार प्रसारमा जोडदिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले जापानको नेपाली समाजबारे जानकारी गराउदै समाजमा भइरहेका केही गलत क्रियाकलापको समाधानका लागि दुतावासको ध्यानाकर्षण गराएका थिए । उक्त भेटघाट कार्यक्रममा दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल , दुतावासका सचिबद्वय रेवन्त केसी, टोपनारायण गिरी ,पत्रकार महासंघकी केन्द्रिय सदस्य पवन वर्षा शाह लगायतका संचारकर्मीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०७४