पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार राति पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै ३ बेपत्ता छन् ।
घरभन्दा माथिवाट आएको पहिरोले २ घर पुरिँदा २ परिवारका ९ जना पुरिएका थिए । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।
थप ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् ।
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । बिहानबाट पुनः उद्धार सुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।
शनिबार साँझ ६ बजेदेखि झण्डै २ घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३ सय मिटरभन्दा माथिबाट पहिरो आएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७