काठमाडाैं । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ ।
शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नम्बर १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल देशको प्रदेश १ र सुदूरपश्चिम प्रदेशको तराईका भूभाग तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेकाे छ ।
दिउँसो प्रदेश १, २, वाग्मती, ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १ र २ का १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार देशभर पूर्ण बदली रही प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, गण्डकी र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.५ डिग्री र अधिकतम तापक्रम ३०.२ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५.६ डिग्री र सबैभन्दा बढी नेपालगन्जको अधिकतम तापक्रम ३७.६ डिग्री सेल्सियस छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७