काठमाडाैं । पर्वतकाे कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएकामध्ये थप २ जनाको शव फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शव आइतबार बिहान फेला परेको हो ।
पहिरोमा पुरिएका ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि गएराति पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको थियो ।
बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन् । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय बासिन्दासहितको टोली खोजी र उद्धार कार्यमा जुटेको छ ।
पहिरोले उनीहरुका घरमा रहेका अन्य चौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै ३ सय मिटर भन्दा माथिबाट पहिरो आएको छ ।
यसैगरी निरन्तर परेको वर्षाका कारण रुकुम (पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा रहेकाे बसपार्क बगाएको छ। बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए। उनका अनुसार खोलामा रहेका ३ काठेपुल, २ घट्ट र एउटा गुम्टी पसल बगेका छन् ।
लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजिकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए ।
स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७