काठमाडाैं । गुल्मीमा कोरोना संक्रमित १ व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए।
उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो ।
उनी २ वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए । उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित १ जङ्गलमा शव व्यवस्थापन गरेको छ । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने २ जना पुगेका छन् ।
यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना संक्रमित ११ जना छन् । २ जना कोरोना जितेर घर फर्केका छन् ।
अझै विभिन्न क्वारेन्टाइनमध्ये रेसुङ्गा नगरपालिकामा ३, रुरु गाउँपालिकामा २ तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा १-१ संक्रमित छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७