काठमाडौं । नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको मौसमविद्ले बताएका छन् । माैसमविद्का अनुसार शुक्रबारबाट मनसुन नेपाल भित्रिएको छ ।
सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू भागमा प्रवेश गर्ने मनसुन यसपटक १२ जुनमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ । शुक्रबार राति खासगरी पूर्वका ओखलढुंगा, ताप्लेजुङ, इलाम, सुनसरीलगायत क्षेत्रमा मनसुनी वर्षा भएको उनले जानकारी दिए ।
मौसमविद् प्रधानांगका अनुसार अहिले मनसुनी प्रणाली पूर्वमा मात्र सीमित छ र यो बिस्तारै देशभर फैलिने छ ।
यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यद्यपि तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार आज पनि मुलुकका विभिन्न भूभागमा वर्षा हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिम भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ ।
दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७