काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनको अवधिमा झण्डै २ लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको संख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ ।
बन्दाबन्दी जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको हो । गत वैशाख महिनासम्म झण्डै १ लाख ४० हजार र यही जेठ महिनामा १ लाखभन्दा बढी अनुमतिपत्र छपाइ भएको छ ।
आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । उनले भने, चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको छौँ ।
केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै ५ वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापित गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो । विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्न पर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् ।
यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन ।
साना प्रिन्टरले थोरै संख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ । विभागले मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ ।
जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको उनले बताए । उनले भने, दैनिक ३ चरणमा प्रिन्टर सञ्चालनका लागि २/२ जना कर्मचारी कार्यालय आउने गर्छन्, एउटा सिफ्टको कर्मचारी गएको १ घण्टापछि मात्रै अर्का कर्मचारी आउँछन् ।
संघीय सरकारले यातायात कार्यालयहरु प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने संघीय सरकारले नै गर्दै आएको छ । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने, पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यालयले नै गर्दै आएका छन् ।
सरकारले उपकरण खरिद गर्दासम्म विभागले ८ लाख अनुमतिपत्र छाप्नुपर्ने थियो । उपकरण २ महिनासम्म पनि जडान गर्ने र तथ्यांक सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो ।
पहिलो केही साता १ सिफ्टमा मात्रै सञ्चालन भएकामा २ सिफ्ट हुँदै अहिले ३ सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताए । सामान्य प्रिन्टरले १ महिनामा ३ हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक ५ हजार छाप्ने छ ।
विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ ।
यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि उपकरण खरिद गरेका छैनन् ।
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो संख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७