काठमाडौँ । सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा १ जनाको मृत्यु भएको छ ।
झडपमा सशस्त्र प्रहरीका ३ जना र भारतीय नागरिक ३ जना गरी अन्य ६ जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ९ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।
गोली लागेर १ जना भारतीय नागरिकको मृत्यु भएको छ। मृतकको नाम, ठेगाना खुलेको छैन ।
पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बाहादुर जिसीले पुष्टि गरे ।
सो क्रममा सुरुमा १० राउन्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि गोली चलाउनु परेको सशस्त्रले जनाएको छ । भारतीयहरूले हतियार लिएर भागेपछि प्रहरीले ५ राउन्ड गोली चलाएको थियो ।
त्यसैगरी हतियार खोस्ने भारत सीतामढीका ४५ वर्षीय लगन राम पक्राउ परेका छन्।
सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेका छन् । उनीहरु नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य नखुले पनि नेपाल भारतमा अवैध रुपमा सामान ओसारपसार गर्ने तस्कर समूह भएको सुरक्षा निकायकाे अनुमान छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७