बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ५ थान भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ ।
अवैध हातहरियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट सोही ठाउँका बमबहादुर घर्तीको २ थान भरुवा बन्दुक फेला परेकाले उनीहरु दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । पक्राउ परेका ६ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको केसीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७