काठमाडौं । बिहीबार पनि बालुवाटारमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले ‘राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका थिए ।
प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी तितरवितर पारेको छ ।
यसअघि पनि उनीहरुले बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए । २ दिनअघिकाे सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेर हटाएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७