बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनकाे आधारलाई नै मान्यता दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार एसइई खारेज भएकाे नभई विद्यालयलाई जिम्मा दिइएको बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।
गएकाे चैत ६ बाट हुनुपर्ने एसइई अन्तिम समयमा आएर कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको थियो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय पनि गरेको छ । समाचार स्राेतका अनुसार पसल खोल्ने दिने र सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएकाे छ ।
ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालन हुने छन् । लामो रुटका सवारी साधन भने अहिले चल्ने छैनन् ।
यद्यपि बैठककाे निर्णय बिहीबार सार्वजनिक गरिने र लकडाउनकाे माेडालिटी पनि साेही समयका जानकारी गराइने बताइएकाे छ ।