काठमाडौं । स्वास्थ्य सामग्री खरिदका विषयमा उठेका प्रश्नप्रति नेपाली सेनाले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।
कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा सेनालाई विवादमा मुछ्ने प्रयास भएको जंगी अड्डाले जनाएको हो ।
नेपाली सेनाले विज्ञप्ति निकालेर नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भीर विषय भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएकाे छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भीर विषय हो ।’
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ चैत १६ गतेको कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको निर्णयबाट सरकारद्वारा सरकार (जीटुजी) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्यान्डेट प्राप्त भएको नेपाली सेनाले जनाएकाे छ ।
‘तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको बिषम परिस्थितिमा समेत पारदर्शिताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन नेपाली सेनाले जीटुजी प्रकृयामार्फत सम्बन्धित देशको सरकारी प्रतिनिधि मात्रको प्रयोग गरी कमिशनरहित रुपमा प्रत्यक्ष कारोवार गर्न तथा अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गर्नुका साथै सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही सबै सरोकारवालाहरु (प्रतिनिधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु) सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७