काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले उपत्यकाभित्रका स्थानीय सरकारहरु विकास विरोधी रहेको आरोप लगाएका छन् ।
प्राधिकरण खारेज गर्नुपर्ने उपत्यकाका मेयरहरुको माग विकास विरोधी रहेको तिवारीको प्रतिक्रिया छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आफूहरुको कार्यक्षेत्र मिचेको आरोप लगाउँदै काठमाडौँ उपत्यकाभित्रका मेयरहरुले संगठित रुपमा प्राधिकरण खारेजको माग गरिरहेका छन् । संघीय कानुन बमोजिम निर्माण भएको संरचनालाई खारेज गर्न माग गर्ने मेयरहरु संविधान विरोधी रहेको समेत तिवारीले आरोप लगाएका छन् ।
आफँै सञ्चालक समिति र भौतिक विकास समितको सदस्य रहेको संरचना नै खारेजको पक्षमा उत्रिएका मेयरहरु कालिदासको भूमिकामा रहेको डा. तिवारीको आरोप छ । आजको न्युजसँगको प्रतिक्रियामा आयुक्त तिवारीले भने, ‘उहाँहरु आफैँलाई राजा घोषणा गरिरहनु भएको छ । स्रोतजति सबै हामीलाई नै चाहिन्छ भन्ने उहाँहरुको मानसिकता छ ।’
आफ्नो जिम्माको कुनै पनि काम गर्न नसक्ने मेयरहरु उल्टै अन्य निकायको क्षेत्राधिकारमा समेत आँखा गाडिरहेको डा तिवारीको आरोप छ । डा. तिवारीले भने, ‘उहाँहरु निर्वाचित भएको झण्डै २ तिहाई समय सकिइसकेको छ । यसबीचमा उहाँहरुले आफँैले गरेका प्रतिबद्धता पूरा गर्ने त परको कुरा, त्यस्तो काम सुरु गरे भन्ने पनि एकिन छैन ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई संविधानले चिन्दैन भन्ने मेयरहरुको भनाइलाई डा तिवारीले भने, ‘त्यो उहाँहरुको अल्पज्ञान हो, त्यसो भए संविधानले त यति वटा मन्त्रालय हुने मात्रै भनेको छ, कुन कुन मन्त्रालय भनेर पनि तोकेको छैन । भोलि उहाँहरु मन्त्रालय नै चिन्दिनँ भन्नुहोला । अनि त्यसबेला के गर्ने ?’
प्राधिकरण संविधानतः संघीय कानुन बमोजिमको सरकारको संघीय मन्त्रालयको एउटा निकाय रहेको जानकारी लिन पनि मेयरहरुलाई तिवारीले सुझाव दिए ।
विकास प्राधिकरणमा उपत्यकाभित्रका मेयरहरु नै ५ जना सञ्चालक समितिमा रहने र ६ जना भौतिक विकास समितिमा रहने व्यवस्था रहेकामा बरु यसलाई सशक्त बनाएर कसरी उपत्यकाको विकास गर्ने भन्नेतर्फ सोच्नुपर्नेमा उल्टै संरचना नै खारेज गर्नुपर्ने उनीहरुको माग आफ्नै घर जलाउने माग जस्तो भएको तिवारीको भनाइ छ ।
निर्वाचित हुँदा जनतासँग गरेको एउटा पनि बाचा पूरा गर्नेतर्फ उदासीन रहेका मेयरहरु स्रोतमाथि हालीमुहाली गर्न अर्को संरचना खारेजको एजेन्डा बोकेर मन्त्रालय मन्त्रालय पुगेको तिवारीको आरोप छ ।
उपत्यकाभित्रको फोहोर समेत व्यवस्थापनमा असफल रहेका मेयरहरु अर्काको अधिकार खोस्न तम्सिएको समेत तिवारीले आरोप लगाए । संघीय सरकारका कारण उनीहरुले गर्न खोजेको कुन विकास हुन सकेन, त्यसको फेहरिस्त दिन समेत डा. तिवारीले मेयरहरुलाई चुनौती दिए ।
उनले भने, ‘आफू काम पनि नगर्ने अरुले गरेको काम पनि देखि नसहने मेयरहरुको रबैया नाच्न नजान्नेले आँगन टेढो भनेजस्तै हो ।’ क्षेत्राधिकारको पछि दौडिनु भन्दा आफ्नो जिम्माको काम गर्न डा तिवारीको मेयरहरुलाई सुझाव छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७