काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ बहुमतले पारित गरेको छ ।
बुधबार बसेकाे प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकोमा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री डा खतिवडाले यही जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७-७८ को राजस्व र व्ययको वार्षिक विवरण (बजेट) प्रस्तुत गरेका थिए ।
सरकारले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ । बजेटका स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका सदस्यले २६ खर्च कटौतीसम्बन्धी राखेको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत गरेकाे हाे ।
विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जेठ २७ र २८ गते जवाफ दिएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७