म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ रायखोरमा सुतिरहेकै बेला पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ।
प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार मंगलबार राति ११ बजे खसेको पहिरोमा स्थानीय ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको मृत्यु भएको हो। राति उनीहरू सुतिरहेको गोठ नै लेदोसहितको पहिरोले पुरिएको उनले बताए।
पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले उनीहरूको शव फेला पारेका हुन्।
ढुंगा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै पहिरोमा पुरिएका छन्। पशुचौपाय भने मरेका छैनन् ।
थप उद्धार र अनुसन्धानका लागि आज (बुधबार) बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७