काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा क्षेत्रमा भएकाे सरकारविरुद्धकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।
नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको हाे । मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले नाराबाजी समेत गरेको र प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले नियन्त्रणमा लिन खोजेको महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काई व्यवस्थापन लगायतका माग राखेर प्रदर्शन भएकाे हाे ।
कोभिड-१९ बाट नागरिकलाई जोगाउन सरकारी कदम अपुग तथा अव्यवस्थित भएको भन्दै मंगलबार भौतिक दूरी कायम राख्दै बालुवाटारको निषेधित क्षेत्रबाहिर गरेको शान्तिपूर्ण प्रदर्शन गरेको विवेकशील नेपाली दलले जनाएको छ ।
प्रदर्शनमा उत्रिएका– ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भृकुटीभण्डपमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
विवेशील दलका पूर्वअध्यक्ष उज्ज्वल थापासहितका प्रदर्शनकारी पक्राउ परेका हुन् । पूर्वअध्यक्ष थापासहितका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दुर्व्यवहार, पानीको फोहोराको प्रयोग र कुटपिट गर्दै उनीहरूको गिरफ्तारी गरेकोमा विकशीलले निन्दा गरेको छ । गिरफ्तार प्रदर्शनकारीहरूको तत्कालै रिहाइको माग गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७