काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० कान्छी बजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फार्ममा कार्यरत ५ जनाको हत्या आफूले गरेको पक्राउ परेको युवकले स्वीकार गरेका छन् ।
गाईभैँसीको गोठअगाडि सुतेका ५ जनाको हत्या आफूले गरेको ती व्यक्तिले प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरीले जनाएकाे छ ।
घटनास्थल नजिकै परालमा लुकेर बसेका सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे हाे ।
काममा किचकिच गरिरहन्थे । रिस उठ्यो अनि कोदालाले हानें , युवकले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन् । यसअघि पनि युवकले मृतक माधव मुसहरलाई ज्यान मार्ने धम्की दिएका थिए ।
सिंजाली र माधवका बीच गत १४ गते झगडा परेको माधवका छोरा करणले बताए । समाचार स्राेत अनुसार श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि करिब २ महिनाअघि मात्रै सो फर्ममा काम गर्न आएका थिए ।
उनले श्रीमतीले छाडेर गएको र आफू एक्लै रहेकाले तनाव हुने गरेको स्थानीयसँग बताउँदै आएका थिए । स्थानीयका अनुसार उनले दैनिकजसो मदिरा सेवन गर्ने गर्थे ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७