बुटवल । रुपन्देहीको तिलोत्तमा १० मैनहियामा १ व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् ।
गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति हत्या गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशीष चौधरी छन् । उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन् ।
यसैबीच, सामूहिक हत्या गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत घर भई सोही फार्मममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली रहेको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए ।
ती युवकलाई उक्त फार्मभन्दा केही पर नसामा लट्ठिएर बसेको अवस्थामा फेला पारिएको धानुकले जानकारी दिए ।
हत्या आरोपमा पक्राउ परेका व्यक्ति समेत नशामा लठ्ठिएको अवस्थामा फेला परेकाले उनले नशालु पदार्थ खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनास्थलमा रगत लतपतिएको काेदालाे भेटिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७