बिहे गरेको दस वर्ष नाघिसक्दा पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेन्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् ।
दुई वर्षअघि दिल्ली पुगेर पतिपत्नी दुवैको सम्पूर्ण मेडिकल जाँच पनि उत्तराकै पहलमा भइसकेको थियो । उक्त जाँचमा उमङ्गको वीर्यमा फर्टिलिटीको अंश पर्याप्त नभएको नतिजा निस्केको थियो । ‘यस्तो अवस्थामा भगवानकै चमत्कार भए मात्र तपाईं दुईबाट सन्तान जन्मन्छ । अँ ! टेष्टट्युब गर्न सकिन्छ, तर त्यसमा पनि वीर्य चाहिँ ब्यांकबाटै लिनुपर्ने हुन्छ , डाक्टरको सल्लाह थियो । तर उमंग कुनै पनि हालतमा पनि यसप्रकारले सन्तान नचाहने अडानमा रहे । उत्तराले पनि लोग्नेको अडान तोड्नका लागि जिद्धि गर्न सकिनन् ।
दिल्लीबाट फर्केर आएपछि उनीहरूबीचको सम्बन्ध दिनदिनै चिसिँदै गएको थियो । पार्टीमा मात्र मात्ने उमंग अब आधा रातसम्म घर बाहिर रहने र फर्कदा होसै नरहने भइसकेको थियो।
त्यो रात पनि त्यस्तै भएको थियो ।
उत्तरा आफ्नो शयनकक्षमा राखिएको कम्प्युटरमा रमाउन खोज्दै थिइन् । उमंग कोल्टे फर्केपछि उनको एक मात्र साथी यही कम्प्युटर भएको थियो । गुगल गरेर विश्वका विविध विषय र प्रविधिबारेको जानकारीमा रमाउँदै समय विताउनु उनको दैनिकी थियो । दिउँसोको समय त कार्यालय र घर गर्दा सजिलै बित्ने गर्थ्यो । तर रात जति गर्दा पनि बित्दैन थियो ।
उमंग घर नआउञ्जेल उनलाई विछ्यौनामा पल्टनै मन लाग्दैनथ्यो भने उमंग आएपछि पनि उनको निद्रै टरिसकेको हुन्थ्यो । त्यसैले कम्प्युटरको वेब भिजिट उनको बाध्यताजस्तै भइसकेको थियो । त्यही क्रम पनि अब एकरसीय भइसकेको थियो । त्यो रात पनि उनी अल्छीलाग्दो पाराले वेभ भिजिट गर्दै थिइन् ।
अचानक उनको मनमा फर्टिलिटी गुगल गर्ने विचार आयो । नभन्दै गुगलले केही बेरमा नै सँधैझैं फर्टिलिटी बारेकै विविध साइटहरूबारे जानकारी गरायो । त्यसमध्येका अधिकांश साइटहरू उत्तराले भिजिट गरिसकेकी थिइन् । त्यसैले दिक्क मानेर त्यहाँबाट फर्किन लागेकी थिइन् । त्यसैबेला ‘आजै खुलेको आश्चर्यजनक यस साइटमा भिजिट गर्नुस्’ लेखिएको विज्ञापनमा उत्तराका आँखा परे । ‘के रै’छ यस्को नयाँ नौलो ? हेरौं न त ।’ उत्तरालाई लाग्यो र उनले त्यसमा क्लिक गरिन् ।
‘यो साइट पाँच मिनेट अघि मात्र परीक्षणका लागि राखिएको हो । जसकसैले यो साइट भिजिट नगर्नु होला । प्रयोगका क्रममा कुनै ग्राहकलाई कुनै समस्या पर्न गएमा गुगलले जिम्मेवारी लिने छैन ।’ सावधानीका वाक्य लेखिएका राता अक्षरहरूलाई आवश्यकता भन्दा बढी प्रकाशित गरिएको थियो । सावधानीका कुरा पढेपछि उत्तराले रोमाञ्चको अनुभूति गरिन् । डराएर गुगलबाट फर्किनुको साटो उनलाई उक्त साइट एकपटक खोलेर हेर्ने उत्कट इच्छा भयो । त्यसैले उनले त्यहाँ पनि क्लिक गरिन् । एडीएसएलको नेट केही स्लो भएकाले केही बेर उनले अधैर्यसाथ वेब खुल्ने प्रतीक्षा गरिन् । त्यसक्षण उनलाई उक्त वेबसाइट खुल्नुको प्रतिक्षा अवधि निकै लामो लागेको थियो ।
अन्ततः वेबपेज उनको कम्प्युटरमा खुलेको थियो ।
त्यस पेजको शिरमा पुनः अघिकै सावधानीका वाक्य रातै अक्षरमा दोहोर्याइएको थियो । ‘तपाईं साहसका साथ यस पेजमा आइपुग्नु भएकोमा स्वागत छ’ त्यसको तल्तिरपट्टि लेखिएको थियो । ‘कृपया सावधानीका साथ यो फर्म भर्नुहोस् |
त्यसदेखि तलतिर एउटा फर्म थियो ।
तपाईंको नाउँ ठेगाना लेख्नुहोस् । तर तपाईंको नाउँ ठेगाना गोप्य राखिनेछ ।
१. के तपाईं सन्तानहीन हुनुहुन्छ ? उत्तरको ठाँउमा हो होइन लेखिएको थियो । उनले हो मा चिनो लगाइन् ।
२. के तपाईं पैंतीस वर्ष नाघ्नुभएको छैन ? उत्तरको ठाँउमा छ छैन लेखिएको थियो । उनले छैन मा चिनो लगाइन् ।
३. के तपाई विज्ञानसम्मत रुपले आमा बन्नका लागि योग्य हुनुहुन्छ ? अर्थात् तपाईंको मेडिकल जाँच भइसकेको छ ? उत्तरका ठाँउमा छ छैन लेखिएको थियो । उनले छ मा चिनो लगाइन् ।
‘कृपया अर्को पानामा जानुहोस्’ लेखिएको ठाँउमा उत्तराले क्लिक गरिन् ।
‘तपाईं नछुने भएको कति दिन भयो ?’ त्यहाँ कर्सरले तानेर अंक राख्नुपर्ने थियो । उत्तराले सातको अंक राखी दिइन् । त्यसपानामा त्यही एउटा मात्र प्रश्न लेखिएको थियो र अर्को पानामा जाने चिह्न थियो । उत्तराले अर्को पानाका लागि क्लिक गरिन् ।
अर्को पानामा पनि एउटै मात्र प्रश्न थियो ।
‘के तपाई तत्काल गर्भाधान गर्न चाहनुहुन्छ ?’
कौतुहल मिश्रित उत्तेजनाका कारण उत्तरालाई माघ महिनाको काठमाडौंको ठिहीमा पनि चिट्चिट् पसिना आइसकेको थियो । त्यसैबेला उनको आँखा कोठाको मध्यभागमा टाँगिएको भित्ते घडीमा पुग्यो रातको एघार बजिसकेको थियो । बाहिर सधैंझैं टोले कुकुरहरू भुकेको आवाज एकनास आइरहेको थियो । घरमा भएका सासूससुराले एक निद्रा पुर्याउने बेला भइसकेको थियो भने उमंगको घर फर्किने बेला हुन अझै एक घण्टा बढी बाँकी नै थियो । यो अन्तिम प्रश्नको उत्तर लेख्ने बेलामा उनको सास पनि केही छिटो छिटो चल्न थालिसकेको थियो । ‘यस्तो पनि कतै होला र- भोकाएको मान्छेको मुखैमा आइपुगेको गाँस जस्तै कुरा छ यसको । के गरौं- एकैछिन बढो द्विविधा भयो उत्तरालाई । ‘गफ लगाउँदो हो । जे होला अब । एकपटक हुन्छ भनी दिन्छु । के नै होला र ?’
उनले दह्रो मन पारेर सकारात्मक कोठामा चिनो लगाइन् । चिनो लगाइसकेर उत्तराले लामो सास फेरिन् ।
नेट स्लो भएको कारण खोजी कार्यको चक्र हेरिरहिन् उनले । तर त्यसैबेला कम्प्युटरबाट आवाज आउन थाल्यो । अंग्रेजी भाषामा उत्तरालाई एउटा पुरुष आवाजले सम्वोधन गरेको थियो । उत्तरा झनै छक्क परेकी थिइन् । आश्चर्यचकित उत्तराले पनि प्रति उत्तर दिन थालिन् ।
‘मैले भनेको मान्यौ भने म तिमीलाई गर्भवती बनाइदिन सक्छु ।’
त्यस आवाजले उत्तरालाई मायालु आवाजमा सोधेको थियो ।
आवाज अत्यन्त सम्मोहक थियो । उत्तरालाई त्यस आवाजको सम्मोहनले लट्ठ पारेको थियो । उनले त्यस आवाजलाई स्वीकारोक्ति जनाइन् ।
‘ढोकामा चुकुल लगाऊ ।
मधुरो बत्ती बाल ।
तिम्रा सबै पोसाक खोल ।
अब तिमी बिछ्यौनामा जाऊ ।’
उक्त आवाजले उत्तरालाई अह्राएको थियो र उत्तराले पनि आवाजले भने अनुसार नै सबै काम गर्दै गएकी थिइन् ।
उत्तरा बिछ्यौनामा पुगेको केही बेरमै कम्प्युटरमा स्वाँ… गरेर आवाज आएको थियो र कम्प्युटरबाट इन्द्रधनुष सरहको किरण बाहिर निस्केको थियो । उक्त इन्द्रधनुष हेर्दाहेर्दै मानव आकृतिमा परिणत भयो । उक्त मानव आकृति विस्तारै उत्तराको बिछ्यौनातिर लम्केको थियो । त्यो निर्वस्त्र सुन्दर शरीरधारी पुरुषका ओठमा मन्दमुस्कान थियो भने उसको अनुहार ओजस्वी देखिएको थियो । उत्तराले छक्क परेर ती पुरुषलाई अपलक हेरिरहिन् । सपनाजस्तो लागेर उत्तराले आफूलाई चिमोटिन् पनि तर त्यो सम्पूर्ण विपना थियो ।
त्यसपछिको समय कसरी बित्यो उत्तरा अर्धबेहोसीकै अवस्थामा रहिन् । यत्ति हो उक्त पुरुषले सम्पूर्ण पाकक्रिडाका साथमा उत्तरासँग सम्भोग गरेर उनलाई चरमसन्तुष्टिको शिखरमा पुर्याइदिएको थियो । झन्डै आधा घण्टाको अवधिमा सबै काम सकिएको थियो ।
‘अब मातृत्वले भरिएको तिम्रो जीवन रमाइलो हुने छ । भगवान्ले तिमीलाई सुखी पारून् ।’ उक्त पुरुषले उत्तराको निधारमा चुम्बन गरेपछि बिदाइको हाल हल्लाउँदै भनेको थियो । आफ्नो निधारमा त्यस पुरुषको तातो चुम्बनले उत्तरालाई आफ्नो स्वर्गवासी पिताको सम्झना गराएको थियो । अभूतपूर्व अपार आनन्दको पोखरीमा पौडिरहेकी उनले उक्त पुरुषसँग कुनै प्रश्न गर्न खोज्दानखोज्दै ऊ त पुनः इन्द्रेणीमा परिणत भएर कम्प्युटरमा प्रवेश गरिसकेको थियो । त्यसपछि कोठा चकमन्न भएको थियो ।
अब उत्तरा वास्तविक दुनियाँमा आइपुगेझैं झसँग भएकी थिइन् । उनले भित्ते घडी हेरिन् बाह्र बज्नै लागेको थियो । उनका लोग्ने अझै फर्केका थिएनन् ।
उनी हतारहतार बिछ्यौनाबाट उठेर बाथरुम पसिन् र आफूलाई धोइपखाली गरिन् । बाथरुमबाट फर्केर खजमजिएको बिछ्यौनालाई मिलाउँदा मिलाउँदै लोग्नेको मोटरको आवाज आएको थियो ।
लगत्तै उनी लोग्नेका लागि मूल ढोका उघार्न गएकी थिइन् ।
(यो कथा साहित्य संग्रहालयबाट साभार गरी प्रकाशन गरिएकाे थियाे । आज पुनःप्रकाशन गरिएकाे हो ।)
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७