काठमाडौँ । सरकारले शुक्रबार म्यान्मारसँगै संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपाली नागरिकको उद्धार गरेको छ ।
काेराेना महामारीका कारण युएईमा समस्यामा परेका १ सय ६८ जना नेपाली नागरिक लिएर एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान काठमाडौं आएकाे हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई १७५१ नम्बरको जहाज मार्फत साँझ ६ बजे काठमाडौँ अवतरण गरेको जानकारी दिए । जहाजमा एउटा शवसमेत ल्याइएको बताइएकाे छ ।
यसैबीच युएईबाट शुक्रबार साँझ आइपुगेका १ सय ६८ जनालाई होल्डिङ सेन्टरमा लगिएको छ । एयर अरेबियाको जहाजबाट आएका नेपालीलाई उनीहरुसँग सम्बन्धित प्रदेशअनुसार तयार गरिएका सेन्टरहरुमा लगिएको हो ।
विदेशबाट ल्याइने नेपालीहरुलाई राख्न उपत्यकाका विभिन्न ठाउँमा ८ वटा होल्डिङ सेन्टर बनाइएको छ । विमानस्थलदेखि त्यहाँसम्म उनीहरुलाई बसमा लगिएको थियो ।
सरकारले ती केन्द्रहरुबाट उनीहरुलाई आआफ्ना प्रदेश पुर्याउने व्यवस्था गरी सम्बन्धित स्थानीय निकायको जिम्मा लगाउने छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७