तुलसीपुर । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्ससहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ ।
गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा १६ ग्राम ४ सय ५० मिलिग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य संघको हाे ।
तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शंकर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशंका गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको हो ।
उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुङ्गा प्रहार हुँदा घाइते भए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका –५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उहाँका २७ वर्षीय छोरा हेमराज डाँगीले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरेको उहाँले बताए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७