काठमाडाैं । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नम्बर १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ ।
सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आज सुरु गरेको हो ।
कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।
पहिलो उडानका रूपमा म्यान्मा सेनाको जहाजबाट आएका नेपालीमध्ये प्रदेश नम्बर १ र २ का नागरिकलाई होल्डिङ सेन्टरमा राख्ने तयारीका साथ वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै भक्तपुर अस्पताल र सेनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालित छन् ।
सो सेन्टरमा नेपाल रेडक्रस सोसाइटीका भक्तपुर शाखाका स्वयंसेवक प्रदेश नं १ का नागरिकलाई होल्डिङ गर्ने सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैक्वेट र प्रदेश नं २ को नागरिक होल्डिङ गर्ने मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटमा खटिएको छ ।
नेपाली सेनाको टोलीले हिजो नै दुवै सेन्टरमा विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा कसरी व्यवस्थापन गर्ने र के–के प्रक्रिया कसरी पूरा गर्ने भन्नेबारेमा अभ्याससमेत गरेको थियो । सो गणका गणपति एवं कर्नेल शिव पौडेल म्यानमारबाट आउने नागरिकलाई लिन सेनाको गाडीसहित त्रिभुवन विमानस्थल गएको जानकारी दिए ।
उनका अनुसार होल्डिङ सेन्टर आवश्यक सबै तयारी पूरा गरी सेना, सशस्त्र र नेपाल प्रहरीको टोली, भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक, सिमकार्ड वितरण गर्ने, व्यक्तिगत विवरणसहितको फाराम भराउने, आराम गराउने, खानाको व्यवस्थापन गर्नेलगायत टोली तयारी अवस्थामा छन् ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको होल्डिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार म्यान्मामा रहेका नेपाली नागरिक लिएर आएको टोलीमा प्रदेश नं १ का एक जना मात्रै रहेपछि उनलाई काठमाडौँकै सेन्टरमा पठाए पनि आजै अपराह्न अन्य मुलुकबाट आउने नागरिकलाई भने यहाँका २ वटै होल्डिङ सेन्टरमा राखिने भएको छ ।
ती २ प्रदेशका १ हजार व्यक्तिलाई राख्न सकिने गरी व्यवस्थापन गरेको, प्रदेशले व्यवस्था गरेको बसमा राखेर नपठाएसम्म बस्ने, आराम गर्ने र २० जनासम्म सुत्न मिल्ने गरी शय्याको व्यवस्था गरिएको छ ।
विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने राधेराधेको इजी वे ट्रायल सेन्टरमा ल्याएर राखेर त्यहीबाट जिल्लाका ४ वटै नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टिनमा लैजाने व्यवस्था गरिएको छ ।
विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिसिएमसीले ४ वटै नगरपालिकालाई क्वारेन्टाइनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा २ बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टाइन, सानोठिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टाइनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७