काठमाडौं । राइटर्स इन्टरनेसनल राष्ट्रिय परिषद् नेपालले लकडाउनका बेला समस्यामा परेका साहित्यकारलाई सहयोग गर्ने सिलसिलामा बुधबार साहित्यकार तथा पत्रकार बिके पाल्पाली एवं रेणुका भट्टराईको परिवारलाई आर्थिकसहित खाद्यान्न सहयोग गरेको छ ।
इन्टरनेसनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजेन्द्र गुरागाई, नेपाल परिषद् अध्यक्ष उपमा आचार्यलगायत भक्तपुर–८, सूर्यविनायक सिपाडोलस्थित पाल्पाली निवास पुगी नगद १० हजारसहित ५ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको थियो ।
इन्टरनेसनलको नेपाल परिषद्ले केही दिनअघि बढ्दो लकडाउनका कारण कोही साहित्यकारलाई राहत सहयोगको आवश्यकता भए सूचित गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यसैको आधारमा पाल्पाली परिवारबारे जानकारी पाएपछि सहयोग गरिएको अध्यक्ष आचार्यले बताइन् ।
साहित्यकार पाल्पालीका धरणी महाकाव्य, कोइरालाको फूल कविता संग्रह, अचुक सम्बन्ध उपन्यासलगायत कृतिहरू प्रकाशित छन् भने उनकी पत्नी रेणुका भट्टराईको नजाऊ परदेश नामक कविता संग्रह प्रकाशित छ । पाल्पाली दम्पत्ती भक्तपुर तथा काठमाडौंमा परिचित पत्रकार पनि हुन् ।
अध्यक्ष आचार्यका अनुसार लामो समयदेखि मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका पाल्पाली परिवारकी १७ वर्षीया छोरी पनि बिरामी रहेकीले सो परिवारलाई थप सहयोगको आवश्यकता देखिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७