काठमाडौं । रुकुम पश्चिमको सोतीमा यही जेठ १० गते भएको घटनामा बेपत्ता भएका जाजरकोटका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव पनि फेला परेको छ ।
प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।
बेपत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । स्थानीयले भने उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।
जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुमपश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले चौरजहारी नगरपालिकाका ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७