काठमाडौँ । डाक्टर गोविन्द केसीले दार्चुलाको सदरमुकाम खलंगामा २ दिने सत्याग्रह सुरु गरेका छन् ।
डा. केसीले सीमा क्षेत्रका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि मंगलबार र बुधबार दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह सुरु गरेका हुन् ।
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न तत्काल सरकारले प्रक्रिया सुरु गर्नुपर्ने, डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने माग पनि डा. केसीले राखेका छन्।
डा. केसीले ३ माग राखेर सत्याग्रह सुरु गरेका हुन् ।
यस्ता छन् उनका मागहरु :
१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् ।
२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस् ।
३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् । हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७