काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा ३ चार्टर्ड उडान गरेको छ ।
एयरलाइन्सका २ न्यारोबडी ए–३२० तथा १ वाइडबडी ए–३३० जहाजमार्फत गएराति ५ सय ८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् ।
निगमको २ न्यारोबडी तथा १ वाइडबडी जहाजबाट १–१ घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान गएराति ११ बजे भएको थियो। नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ।
निगमका प्रवक्ता अर्चना खड्काले २ न्यारोबडी जहाजले समान १ सय ५५ र १ वाइडबडी जहाजले २ सय ७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिइन् ।
उनले ३ वटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौँ आइपुग्ने छन् । काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे ४ घण्टाको छ । तीमध्ये वाइडबडी जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।
गन्तव्यमा निगमले एकैपटक यति धेरै यात्रु लगेको पहिलोपटक हो । त्यसो त निगमले सामान्य अवस्थामा यो गन्तव्यमा नियमित उडान गर्दै आएको छ। बन्दाबन्दीको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो ।
निगमका अपरेसनल विभाग प्रमुख दीपु जुहार्जनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘एकै दिनमा काठमाडौँबाट हङकङ यतिका धेरै उडान तथा यात्रु सङ्ख्या निगमको इतिहासमा सायदै कुनै अभिलेख होला’ भनेका छन्।
बन्दाबन्दीको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अस्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो। तेस्रोपटक अस्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दै छ । यी सबै उडान मलेसियाको क्वालालम्पुर हुँदै करिब १३ घण्टाको हुने छ ।
हङकङमा थप ३ चार्टर्ड उडान
नेपाल एयरलाइन्सले हङकङ गन्तव्यमा थप ३ चार्टर्ड उडान गर्दै छ। आगामी जेठ २१, २२ र २३ गते (जुन ३, ४ र ५ तारिख) मा हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताइन् । यी उडानमा पनि निगमका २ न्यारोबडी र १ वाइडबडी जहाज प्रयोग गरिने छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा नेपालमा रोकिएका हङकङेली फर्किएको बताएको छ। नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । नेपालमा करिब १ हजार ३ सय नेपालीमूलका हङकङवासी बन्दाबन्दीका कारण रोकिएका छन् । १ महिनाअघिदेखि फर्किन चाहनेको गैरआवासीय नेपाली संघ हङकङले नामावली संकलन गरेको थियो ।
निगमले आगामी जेठ २५ गते (जुन ७ तारिख) मा वाइडबडी जहाजमार्फत् जापानको नारितामा सातौँपटक चार्टर्ड उडान गर्ने निश्चित भएको जनाएको छ। निगमले १ वाइडबडी र २ न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
बन्दाबन्दीको २ महिनाभन्दा बढीको अवधिमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडान भएका छन्। यसमा सर्वाधिक उडान भर्ने नेपाल एयरलाइन्स छ। दोस्रोमा कतार एयरवेज छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७