काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ ठुरियामा सवारी दुर्घटना हुँदा १२ जनाकाे मृत्यु भएकाे छ ।
नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको माइक्रो बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति करिब १ बजे ठोक्किएर दुर्घटना भएको हो ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी कुलदिप चन्दले तीव्र गतिमा रहेको बस रोकिराखेको ट्रकमा माइक्राे ठोकिएको जानकारी दिए ।
बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार मृतकमा ११ पुरुष र १ महिला छन् ।
२१ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइतेमध्ये २० पुरुष र १ महिला छन् ।
गाडीमा ३३ जना सवार थिए। उनीहरु सबै भारतबाट घर फर्किएका सल्यानका मानिसहरु हुन्। जमुनाहा नाकाबाट उनीहरूलाई बसमा राखेर घरतर्फ पठाइएको थियो।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७