बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको २ वटा पुल बाढीले बगाएको छ ।
पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ संकटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताए ।
पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार गएको बाढीले २ पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताए ।
पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो , कर्माचार्यले भने, बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पुर्याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।
यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा ५ ख ३६८९ नम्बरकाे निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २ सय मिटर तल बगाई क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७