रुकुम । अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर भएको घटनामा बेपत्ता थप १ जनाको आज शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार दिउँसो १ जनाको शव फेला पारेको हो । अरु २ जनाको खोजी भइरहेको छ ।
जाजरकोटको भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा फेला परेको जनाइएको छ ।
गाउँलेको आक्रमणबाट ज्यान जोगाउन नदीमा हामफालेकाहरु बेपत्ता भएपछि खोजी गर्न सशस्त्रको गोताखोर टोलीलाई परिचालन गरिएको थियो ।
जाजरकोटस्थित सशस्त्र प्रहरीको आश्रित गुल्मबाट डीएसपीको कमान्डमा ४ जना गोताखोरसहित ११ जना र पश्चिम रुकुमस्थित सशस्त्र प्रहरी बलको ४७ नम्बर गुल्मबाट प्रहरी नायब निरीक्षकको कमान्डमा ४ जना विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी गरी १८ जनाको टोली परिचालन गरिएको छ ।
योसँगै साे घटनामा मृतकको संख्या ४ पुगेको छ । भेरी नगरपालिका–११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै हराइरहेका छन् ।
भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७