सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ।
बसबरिया गाउँपालिका-५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको कुँवरले बताए। घरेलु हतियारले वृद्धको टाउको र हातमा चोट लागेको छ।
वृद्धको हत्या आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले बताए।
जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ मदिरा सेवन गरेर पटक-पटक बुबालाई गाली बेइज्जती र कुटपिट गर्दै आएको मृतकका जेठो छोरा रामविश्वास रायले बताएका छन्।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाको टोली पुगेर शवलाई जिल्ला अस्पताल मलगंवामा शव परीक्षणका लागि लगिने तयारी भइरहेको अध्यक्ष रायले जानकारी दिए।
सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरलले घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७