हेमन्त केसी
जाजरकोट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो संख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा अघि, युवतीकी आमाको नजर युवामा पर्यो ।
त्यसपछि उहाँले जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट सुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट सुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ ।
नवराजको शनिबार नै कुटपीटबाट निधन भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर निधन भयो । कुटाइबाट घाइते युवा पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् ।
भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।
मृतक युवाका बुवाले भने - हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ, दुईपटक प्रहरीकहाँ उहाँहरुले आफै उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफै छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।
नवराजका बुवाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । शनिबार बुहारी लिन जाँदा यो अवस्था आयाे , नवराजका बुवाले भने ।
घाइते युवा सरोज भँडेल भन्छन्, हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ, सडक तेर्साे भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन, प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महशुस भयो ।
घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरेकाे जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।
रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसन्धान पनि जारी रहेको बताए ।
त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गरेका छन् । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्- नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।
प्रनाउ केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेकोे छ ।
मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केका छन् । रासस
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७