काठमाडौँ । कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह ९ दिनपछि सञ्चालनमा आएको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो ।
विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो । यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो । सुरक्षाका कारण कोरोना संक्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा २ शव एकैपटक जलाउन सकिन्छ ।
कोरोना संक्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ । जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् ।
कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पिसिआर परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन ३ महिना लाग्छ ।
नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७