काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ ।
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका ३ घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए ।
ट्रेसिङ गरिएकाको १ हप्तापछि मात्र स्वाब संकलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब संकलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।
संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा ७ दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ ।
कोरोनाको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७